काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वीरगन्ज, पर्साका प्राविधिक अधिकृत छैठौं गजेन्द्र प्रसाद जायसवाल र विकी यादवविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ।
सार्वजनिक इनार तथा पोखरी निर्माण र मर्मत सम्भार योजनाको भुक्तानी दिने तथा धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ३ लाख ४५ हजार रुपैयाँ घुस लिएको आरोप आयोगले लगाएको छ।
अनुसन्धानको क्रममा उनीहरूले सेवाग्राहीबाट उक्त रकम रिसवतबापत लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर ठहर गरी बिगो ३ लाख ४५ हजार रुपैयाँ कायम गरेर सोही ऐनबमोजिम कैद र बिगोबमोजिमको जरिवाना सजायको माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।



