वीरगञ्ज। नेपाली कम्युनिस्ट पार्टी पर्साले जिल्लावासीले भोग्दै आएका जनजीविकासँग जोडिएका विविध समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
मंगलबार जिल्ला संयोजक जयप्रकाश थारूको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णजंग थापालाई ज्ञापनपत्र बुझाउदै पार्टीले किसानहरूलाई सर्वसुलभ र सस्तो मूल्यमा रासायनिक मल, बीउबिजन, सिँचाइ तथा कृषि सामग्री उपलब्ध गराउन जोडदार माग गरेको छ।
कृषि क्षेत्रलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै मलखादमा हुने कालोबजारी नियन्त्रण गर्नुपर्ने ज्ञापनपत्रमा जनाइएको छ।
त्यस्तै दैनिक उपभोग्य वस्तुमा हुने कृत्रिम अभाव, कालोबजारी र अनावश्यक मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरिएको छ।
विद्युत् सेवा नियमित र भरपर्दो बनाउन, अघोषित विद्युत् कटौती तथा लाइनमा देखिने प्राविधिक समस्या समाधान गर्न र विद्युत् महसुल घटाउनसमेत माग गरिएको छ।
स्वास्थ्य सेवातर्फ सरकारी अस्पतालहरूमा रेबिजविरुद्धको खोप तथा सर्पदंशको एन्टिभेनम पर्याप्त मात्रामा उपलब्ध गराउन र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।
ज्ञापनपत्रमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न, सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्न तथा जन्मदर्तादेखि मृत्युदर्तासम्मका प्रमाणपत्रमा लाग्ने शुल्क खारेज गर्नुपर्ने विषय समावेश छन्।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी थापाले उठाइएका विषयहरू सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ज्ञापनपत्र बुझाउने जान टोलीमा पार्टीका जिल्ला इन्चार्ज पिएल श्रेष्ठ, सहइन्चार्ज मनोज चौधरी, केन्द्रीय सदस्यहरू किशोरी कुशवाहा र हिरा भट्टराई,
सहसंयोजकहरू गंगा खड्का, बाबुराम कौशिक र फिरोज बादशाह तथा मधेस प्रदेश कमिटी सदस्यहरू सबा अन्सारी, अनिल पटेल, उमेश ठाकुर, मदन पटेल, जुमादिन अन्सारी, महेश पटेल, फिरोज अहमद असारी, दीपेन्द्र सिंह पटेल, शरिफ गदी, आकाश पटेललगायतको उपस्थिति रहेको थियो।

