वीरगन्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत वर्ष भदौ २६ गते देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै खारेज गर्ने ठूलो षड्यन्त्र भएको गम्भीर खुलासा गरेका छन् ।
पर्साको वीरगन्जमा बुधबार आयोजित पार्टीको एकता समायोजना, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।
उक्त रात राष्ट्रपति कार्यालयबाट आएको विशेष खबरपछि आफू र कमरेड माधवकुमार नेपाल रातभर बसेर पहल गरेपछि मात्र संविधान, गणतन्त्र र राष्ट्रपति संस्थाको रक्षा सम्भव भएको बताए । ।
‘त्यस रात राजा फर्काउने हल्ला र राष्ट्रपतिलाई राजीनामा गराउने ठूलो दबाब थियो,’ प्रचण्डले भने, ‘हामीले आफ्नो सम्पूर्ण इतिहास, बुद्धि र तर्क लगाएर बिहान उज्यालो हुने बेला मात्रै गणतन्त्र र संविधान जोगिने ग्यारेन्टी गरेर फर्किएका हौँ।’
देश अहिले सुगौली सन्धि यताकै गम्भीर राष्ट्रिय संकट र वैदेशिक हस्तक्षेपको चपेटामा परेको उल्लेख गर्दै प्रचण्डले ‘खतराको घण्टी’ अझै बजिरहेकाले संविधान, स्वाधीनता र जनताका अधिकार जोगाउन कार्यकर्ताहरूलाई पुनः सडक आन्दोलनका लागि तयार रहन आह्वान गरे ।
वीरगन्ज र मधेसको ऐतिहासिक क्रान्तिकारी योगदानको स्मरण गराउँदै उहाँले वर्तमान सरकार वैदेशिक शक्ति केन्द्रको इशारामा चलेको, सुकुम्बासीमाथि डोजर चलाएको र साना किसान तथा मजदुरमाथि अन्याय गरेको आरोप लगाए ।
आगामी दिनमा बामपन्थी र देशभक्त शक्तिहरूबीच सहकार्य गर्दै सडक, सदन र आन्दोलनलाई एकीकृत कार्ययोजना बनाएर अगाडि बढ्ने उनको भनाइ थियो।

