कलैया । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिस्टहरू कार्यनीतिक कमजोरीका कारण शिथिल बनेको बताएका छन्।
बाराको कलैयास्थित होटल बरेवा दरबारमा आयोजित पार्टीको जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट नेताहरू सरकारमा जान र पद जोगाउनतिर मात्र केन्द्रित हुँदा विरोधी शक्तिहरू कम्युनिस्ट आन्दोलनलाई सिध्याउने रणनीतिमा लागेको आरोप लगाए।
सशस्त्र जनयुद्ध र जनआन्दोलनपछि प्राप्त सत्ता र उपलब्धिलाई कम्युनिस्ट विरोधीहरूले रुचाउन नसकेकै कारण रणनीतिक रूपमा घेराबन्दी भइरहेको उनको भनाइ थियो।
उनले कम्युनिष्ट आन्दोलनको कार्यनीतिमा जहाँ कमजोरी भएको छ , त्यहिबाट सच्याउदा मात्रै आन्दोलनले ठिक बाटो समाउन सक्ने भएकोले कमजोरीलाई सच्याएर पुनःकम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन बामपन्थीहरुमा धुर्वीकरण आवश्यक रहेको बताए ।
वर्तमान राजनीतिक परिस्थिति निकै जटिल र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै संयोजक प्रचण्डले भने, “तराई–मधेसमा पार्टी सफल हुनु नै सिङ्गो नेपाली कम्युनिस्ट पार्टीको राजनीतिक उद्देश्य पूरा हुनु हो।” उनले प्रतिक्रान्तिकारी र दलाल शक्तिहरूलाई परास्त गर्न एमालेसँग कार्यगत एकताको तयारी भइरहेको समेत स्पष्ट पारे।
आफ्नो नेतृत्वको सरकारले गरिब, किसान, मजदुरका पक्षमा काम गर्नुका साथै ऊर्जा र पूर्वाधार विकासमा फड्को मारेको दाबी गर्दै उनले ती कामको जस भने अन्य दलहरूले लिन खोजेको गुनासो गरे। आफू र माधवकुमार नेपालको नेतृत्वमा भएको आन्दोलनकै बलमा संविधानसभाबाट संविधान निर्माण भई गणतन्त्र स्थापना सम्भव भएको उनको भनाइ थियो।
कार्यक्रममा पार्टीका सह–संयोजक माधवकुमार नेपालले देशको विकास र समृद्धिका लागि कम्युनिस्ट पार्टीको विकल्प नरहेको दाबी गर्दै जनतालाई पार्टीप्रति विश्वास कायम राख्न अपिल गरे। त्यसैगरी मधेस प्रदेश इन्चार्ज महेन्द्र राय यादवले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन सुदृढीकरणमा जुट्न निर्देशन दिए।
पूर्वमन्त्री तथा मधेस मुक्ति मोर्चाका इन्चार्ज मातृका प्रसाद यादवले राजनीतिमा रचनात्मक र आलोचनात्मक चेत आवश्यक पर्ने भए पनि नेतृत्वप्रति सभ्य भाषा प्रयोग गर्न आग्रह गरे। उनले प्रधानमन्त्री बालेन साहले संसद्मा दिएको अभिव्यक्तिले मधेसी समुदायमाथि नकारात्मक भाष्य सिर्जना गरेको टिप्पणी गरे।
कार्यक्रममा पार्टीका मधेस प्रदेश सह–इन्चार्ज रामकुमार भट्टराई, संयोजक राजु खड्का, सह–संयोजक क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’ र बारा जिल्ला इन्चार्ज रमेश यादवले आन्तरिक कमजोरी सुधार्दै आगामी चुनावमा पार्टीलाई पहिलो शक्ति बनाउने गरी खट्न आग्रह गरे।
जिल्ला संयोजक गीता कँडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संयोजक प्रचण्डले ७ सय ५१ जना जिल्ला कमिटी सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

