वीरगन्ज । जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान (प्रादेशिक अस्पताल) मा कार्यरत चिकित्सकमाथि हातपात गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
अस्पतालको बर्थिङ सेन्टरमा उपचारका लागि आएकी महिलाका आफन्तहरूले असोज १ गते साँझ करिब ६ः३० बजे डा. सरोज साहमाथि हातपात गरेका थिए।
घटनाको खबर पाउनासाथ खटिएको प्रहरी टोलीले धनुषाको औरही गाउँपालिका वडा नं. २ बस्ने २० वर्षीय विजय मुखिया र जनकपुर उप–महानगरपालिका वडा नं.-८ बस्ने २६ वर्षीया सुधिरा मुखिया बिनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई धनुषा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। उनीहरूविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३ (ग) बमोजिमको कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।
उक्त कसूरमा दोषी ठहरिएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी तीव्र रूपमा खोजतलास भइरहेको प्रहरी विज्ञप्तिमा उल्लेख छ।

