वीरगन्ज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै संरक्षण गरिने भएको छ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्रभावित घरधनी तथा प्रतिनिधिहरूसँगको छलफलमा सो प्रतिबद्धता व्यक्त गरेका छन् ।
मेयर सिंहका अनुसार महावीरस्थान मन्दिर, बिर्ता मन्दिर, अलखियामठ तथा छपकैयास्थित इदगाह र कबरगाह जस्ता ऐतिहासिक संरचनाहरूलाई असर नपर्ने गरी डीपीआर तयार पारिएको छ।
सडक विस्तारबाट प्रभावित स्थानीयलाई राहत पुर्याउन सडक सीमा छाडेर नयाँ संरचना बनाउँदा लागु हुने ५ फिट सेडब्याकको व्यवस्थामा पुनर्विचार गरिनेछ।
साथै, नयाँ घर निर्माण गर्दा लाग्ने नक्सापास शुल्कमा छुट तथा सहुलियत प्रदान गर्न आगामी नगरसभाबाट आवश्यक निर्णय गराइने जानकारीसमेत मेयर सिंहले दिए ।
छलफलका क्रममा सज्जन घिरैया, ओमप्रकाश सिकारिया, सुमन क्याल, निरञ्जन चौधरी, प्रमोद सर्राफ लगायतका प्रतिनिधिहरूले सडक विस्तारपछि पर्ने व्यावहारिक कठिनाइ र क्षतिबारे ध्यानाकर्षण गराएका थिए ।

