वीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट ३० किलोग्राम लागू औषध गाँजासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
असोज ४ गते राति करिब १०ः०० बजेको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वानुगौलीबाट खटिएको प्रहरी टोलीले पटेर्वासुगौली गाउँपालिका वडा नं. १ स्थित मलाही टोलमा केही व्यक्तिहरूले गाँजा ओसारपसार गरिरहेको अवस्थामा फेला पारेको हो।
प्रहरी टोलीलाई देख्नासाथ गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भाग्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट २ राउण्ड हवाई फायर गरेको थियो।
हवाई फायरपश्चात् प्रहरीले ३० केजी गाँजासहित स्थानीय ५० वर्षका महेश सहनी र ३४ वर्षका नन्दलाल साहनीलाई घट्नास्थलबाटै नियन्त्रणमा लिएको हो।
प्रारम्भिक पक्राउ परेकाहरूसँग गरिएको थप अनुसन्धानका क्रममा सोही ठाउँका ७५ वर्षीय भुटी भन्ने भुरी चौधरी पनि सोही गाँजा ओसारपसार कार्यमा संलग्न रहेको खुलेपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी चक्र बहादुर मल्लले जानकारी दिए ।

