मलंगवा। संविधान दिवसको अवसरमा सर्लाहीको मलंगवा नगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा २ माइलको खुल्ला दौड प्रतियोगिता तथा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूबीच भाइचारा र समन्वय अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त खुल्ला दौड प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई नगद पुरस्कारद्वारा सम्मानित गरियो।
दौड प्रतियोगितासँगै आयोजना गरिएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। कार्यक्रममा मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादव, जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदी,
श्री कालीध्वज गण ५ कुमारी ब्यारेक नवलपुरका प्रमुख सेनानी उमेश खड्का, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र नाथ पौडेल तथा सशस्त्र प्रहरी बल नेपाल नं.– १० हेडक्वाटर सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर खत्रीको उपस्थिति रहेको थियो।
स्थानीय भद्रभलादमी, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधिहरूसहित करिब ११५ जनाको सहभागिता रहेको सो कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।

