काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरी इजरायल पठाइदिने बहानामा करिब साढे दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो CIB ले रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटीलाई नियन्त्रणमा लिएको हो।
नेपाल र इजरायल सरकारबीच भएको ‘जीटुजी’ सम्झौता अनुसार सन् २०२४ मा लिइएको परीक्षामा सहभागी भई ुलक्की ड्रु मा नपरेका १५६ जना परीक्षार्थीलाई उनीहरूले ठगीको निशाना बनाएका थिए।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पदको दुरुपयोग गर्दै उनीहरूले प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम उठाएका थिए।
इजरायल पठाइदिने विश्वास दिलाएर पीडितहरूबाट कुल २ करोड ५० लाख रुपैयाँ रकम उठाई ठगी गरेको उजुरी ब्यूरोमा परेको थियो।पीडितहरूको जाहेरीका आधारमा ब्यूरोको टोलीले उनीहरूलाई २०८३ असोज १ गते पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको ब्यूरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ले जानकारी दिएका छन्।

