काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालको संविधान दिवसका दिन नेपाली जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
अमेरिकाले जारी गरेको शुभकामना सन्देशमा हालै गएको विनाशकारी आकस्मिक बाढी र पहिरोबाट प्रभावित भएका परिवार तथा समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरिएको छ।
उक्त सन्देशमा बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूसँगै प्रभावित अमेरिकी नागरिकहरूप्रति पनि सहानुभूति प्रकट गरिएको छ।
खोज, उद्धार तथा राहत कार्यहरू जारी रहँदा अमेरिकाले ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गर्दै पुनरुत्थान तथा पुनर्निर्माणका प्रयासहरूमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोऱ्याएको छ।
नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध झण्डै ८० वर्ष पुरानो भइसकेको उल्लेख गर्दै अमेरिकाले आगामी दिनहरूमा दुवै देशको हितका लागि व्यापार, नवप्रवर्तन र लगानीका क्षेत्रहरू विस्तार गर्दै आपसी साझेदारीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

