सिरहा । सिरहाको गोलबजारबाट लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका-३ खोरीया टोल बस्ने अन्दाजी २४ वर्षका महमद साहिल आलम रहेका छन्।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले असोज २ गते अपराह्न ४:५५ बजेको समयमा गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिक शंकास्पद अवस्थामा भेटिएका आलमलाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ९० मिलिग्राम (प्लाष्टिक बाहेक १ ग्राम ३८ मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने पदार्थ र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको पदार्थ र मोबाइलसहित आलमलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए।

