वीरगन्ज । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर मृत्यु हुनेको संख्या एक हजार ३ सय ४१ पुगेको छ । करिब पाँच हजारजनाको अवस्था अझै अज्ञात छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विनाशकारी रसुवा बाढीको खोजी, उद्धार तथा राहत कार्यका सम्बन्धी बुलेटिन जारी गरेर पछिल्लो आधिकारिक जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार अनुसार विपद्मा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३४१ पुगेको छ । जसमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भएको छ। त्यस्तै बेपत्ता वा सम्पर्कविहीन हुनेहरूको कुल सङ्ख्या ४ हजार ९९६ पुगेको छ।
स्थानीय प्रशासन कार्यालयहरूको अद्यावधिक तथ्याङ्क अनुसार बेपत्ता हुनेहरूमा रसुवा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका १ हजार ९६७ नेपाली नागरिक, नुवाकोट जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका २ हजार ३४० नेपाली नागरिक, ५ सय ८९ विदेशी नागरिक तथा १०० सुरक्षाकर्मी र सरकारी कर्मचारी रहेका छन्।
विपद् प्रभावित क्षेत्रहरूबाट हालसम्म १३ हजार १०४ जनाको सकुशल उद्धार गरिएको छ। स्वास्थ्यतर्फ, बाढीका कारण घाइते भएका ६ हजार ७५ जनाको स्वास्थ्यकर्मीहरूद्वारा उपचार गरिएको छ।
यस्तै, विस्थापित परिवारलाई सहयोग पुर्याउन अधिकारीहरूले रसुवा, नुवाकोट, धादिङ र काठमाडौँका विभिन्न स्थानमा ३९ वटा होल्डिङ सेन्टर (अस्थायी आश्रयस्थल) स्थापना गरिएको छ ।
त्यहाँ हाल ३ हजार६५२ बाढी पीडितहरूलाई राखेर राहत तथा पुर्नस्थापनाको काम अघि बढाइएको जनाएको छ।

