बारा । बाराको दुधौरा–पिलुवा सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक स्थानीय शिक्षकको ज्यान गएको छ।
शनिबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित बैजुरा पुलमा निजगढतर्फ जाँदै गरेको ना १ अयो १३४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ५२ वर्षीय शिक्षक देवबहादुर चौरेलको मृत्यु भएको हो।
बिरामी श्रीमतीका लागि औषधि खरिद गर्न पिलुवाबाट पथलैयातर्फ जाँदै गर्दा उनी दुर्घटनामा परेका थिए। ठक्करबाट गम्भीर घाइते भएका चौरेललाई तत्काल उपचारका लागि गण्डकस्थित बयोधा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रत्यक्षदर्शीका अनुसार उनको घटनास्थलमै मृत्यु भइसकेको थियो।
मृतक चौरेल कलैया उपमहानगरपालिका–२४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मनहर्वामा लामो समयदेखि कार्यरत अनुभवी शिक्षक थिए। उनको आकस्मिक र दुःखद निधनले परिवार, विद्यालय, विद्यार्थी तथा स्थानीय शैक्षिक समुदाय स्तब्ध बनेको छ।
घटनापछि प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको छ। स्थानीयबासीले सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई उचित न्याय र क्षतिपूर्तिको माग गरेका छन्।

