दाङ । दाङका विभिन्न सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा १० नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
प्रहरी टोलीले शुक्रबार बिहान ५ः ३० बजेदेखि ८ः०० बजेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा बबई गाउँपालिका र लमही नगरपालिकाका सामुदायिक वनहरूबाट उक्त अवैध हतियारहरू फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार बबई गाउँपालिका–४ स्थित चितलगैरा सामुदायिक वनबाट ४ नाल, लमही नगरपालिका–३ स्थित जखेरा सामुदायिक वनबाट ५ नाल र बबई गाउँपालिका–२ स्थित सुवाखोरे सामुदायिक वनबाट १ नाल गरी जम्मा १० नाल भरुवा बन्दुक बरामद गरिएको छ।
वन क्षेत्रमा अवैध रूपमा हतियार लुकाइएको भन्ने सूचना वा आशङ्काका आधारमा खटिएको टोलीले ती हतियार नियन्त्रणमा लिएको हो। बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।

