काठमाडौं । त्रिशुली-३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना प्राविधिक कर्मचारीको सकुशल उद्धार गरिएको छ।
उद्धार हुनेहरूमा मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन् । सुरुङभित्र फंसेका मध्ये पहिलो चरणमा सञ्जय शाह र त्यस लगत्तै कबीर महर्जनलाई उद्धार टोलीले जीवितै बाहिर निकालेको हो।
उद्धार गरिएका दुवै जनाको स्वास्थ्य स्थिति बुझी थप र प्रभावकारी उपचारका निम्ति उहाँहरूलाई काठमाडौँ ल्याउने आवश्यक तयारी भइरहेको रहेको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीको सचिवालयले जनाएको छ ।
सुरक्षा निकाय तथा प्राविधिक टोलीको निरन्तर प्रयासपछि सुरुङभित्रबाट उहाँहरूलाई सकुशल उद्धार गर्न सफलता मिलेको हो। सुरुङभित्र रहेका अन्य सम्भावित व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अझ तीव्र पारिएको छ।

