काठमाडौं । त्रिशुली र भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत केन्द्र (६) मे.वा. मा नेपाली सेनासहितको टोलीले युद्धस्तरमा खोज तथा उद्धार कार्य जारी राखेको छ।
केबल टनेलको १५ फिट भित्रसम्मको लेदो तथा परिआएका भग्नावशेष हटाई सेनाको टोली थप अगाडि बढ्ने प्रयासमा रहेको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीको सचिवालयले जनाएको छ।
रातदिन नभनी काम गरेर आयोजनास्थलमा जमेको पानीको निकास खोलिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र बजेट तथा खाद्यान्नको अभाव हुन नदिन उच्चस्तरीय संकट व्यवस्थापन SMT बैठकले आवश्यक खर्च र सामग्री व्यवस्थापन गर्ने निर्णय गरेको छ।
यसैगरी, बाढीपछि सम्पर्कमा आउन नसकेका कर्मचारी तथा कामदारका परिवारजनको पिरमार्का सुन्न, विवरण अद्यावधिक गर्न र आवश्यक समन्वय गर्न जनशक्ति विभागका निर्देशकको संयोजकत्वमा विशेष समिति गठन गरिएको छ।
हालसम्म बेपत्ता रहेका कर्मचारी तथा कामदारका आफन्तलाई क्षतिग्रस्त पावर हाउस साइटमै पुर्याएर स्थितिको जानकारी गराउने प्रबन्ध मिलाइएको छ।
गत भदौ १० गतेको भीषण बाढीले प्राधिकरणका आयोजनाहरूमा ठूलो जनधनको क्षति पुर्याएकाले उद्धारका साथै अवरुद्ध विद्युत आपूर्ति छिटो सुचारु गर्न सम्पूर्ण स्रोतसाधन परिचालन गरिएको जनाएको छ।

