काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (केन्द्रीय कार्यालय) ले पार्टी अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै मधेश प्रदेशका दुई नेतालाई साधारण सदस्यताबाट एक वर्षका लागि निलम्बन गरेको छ।
पार्टीका केन्द्रीय समिति सदस्य रामबाबु बैठा र दरश कुशवाहालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी एकबर्षका लागि निलम्बन गरेको पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
्पत्रानुसार, उनीहरूले दलको नीति, सिद्धान्त तथा विधान २०८२ ले निर्दिष्ट गरेको अनुशासन र आचरण उल्लङ्घन गर्दै पार्टी हितविपरीतका कार्य गरेको जनाएको छ।
यसअघि मधेश प्रदेश समितिमार्फत सोधिएको स्पष्टीकरण चित्तबुझ्दो र सन्तोषजनक नभएको तथा प्रदेश समितिको सिफारिसका आधारमा भदौ ८ गतेको निर्णयअनुसार विधानको धारा १०६ बमोजिम कारबाही गरिएको हो।
निलम्बन अवधिभर दुवै जनालाई पार्टीले प्रदान गरेका सम्पूर्ण जिम्मेवारी तथा पदबाट हटाइएको छ। साथै, निलम्बन अवधिमा पार्टीको नीति, सिद्धान्त, विधान र निर्देशनको पूर्ण पालना गर्दै अनुशासनप्रति गम्भीर र जिम्मेवार रहन निर्देशन दिइएको छ।
उक्त निर्णयको बोधार्थ पार्टीको मधेश प्रदेश समिति, पर्सा जिल्ला समिति र संगठन विभागलाई आवश्यक कार्यान्वयनका लागि पठाइएको छ।

