वीरगन्ज । कृष्णभीरमा आइतबार सडक भासिएपछि बारा–पर्सा औद्योगिक करिडोरबाट काठमाडौंतर्फ हुने मालसामानको ढुवानी पूर्ण रूपमा रोकिएको छ।
काठमाडौं उपत्यकामा खपत हुने खाद्यान्न, निर्माण सामग्री, कच्चा पदार्थ र दैनिक उपभोग्य वस्तुको ठूलो हिस्सा यसै करिडोर र वीरगञ्ज भन्सार नाकाबाट भित्रिने भएकाले सडक अवरुद्ध हुँदा सोमबारदेखि मालवाहक ढुवानी ठप्प भएको हो।
काठमाडौंका लागि निस्किएका सयौं ट्रक त्रिभुवन राजपथको नौबीसे–हेटौंडा खण्डको साँघुरो बाटोमा जाममा फसेको ढुवानी व्यावसायीहरुले बताएका छन्।
त्रिभुवन राजपथबाट ६ चक्के बाहेकका ठूला ट्रक जान नसक्ने र कान्ति राजपथमा पनि उस्तै समस्या रहेकाले सम्पूर्ण ढुवानी चक्र प्रभावित बनेको छ। साना चार चक्के पिकअपबाट केही अत्यावश्यक सामान लैजान सकिए पनि ठूला मालवाहक सवारी सञ्चालन गर्न असम्भवप्रायः छ।
त्रिशूली नदीले सडकको जगमै कटान गरेकाले तत्काल मर्मत हुने सम्भावना कम छ। यसैले गृह प्रशासनले व्यवसायीहरूलाई वैकल्पिक मार्गको अवस्था बुझेर मात्रै सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट रातको १ बजेपछि काठमाडौंतर्फ जाने र काठमाडौंबाट आएका सवारीसाधन रातको १ बजेसम्म हेटौंडा पुग्नुपर्ने गरी समय तालिका मिलाएको छ। साथै मालवाहक सवारीलाई कान्ति राजपथतर्फ मोड्ने प्रयास भइरहेको छ।
यद्यपि, अधिकांश मालवाहक सवारीसाधनसँग मुख्य राष्ट्रिय राजमार्गको मात्र सडक प्रयोग इजाजतपत्र हुने गर्छ। त्रिभुवन राजपथ र कान्ति राजपथ साँघुरो र जोखिमपूर्ण भएकाले ठूला ट्रकले ती सडकको अनुमति लिएका हुँदैनन्, जसले गर्दा सयौं सवारी बाटोमै अलपत्र परेका छन्।
वीरगञ्ज–पथलैया करिडोर र भन्सारबाट दैनिक करिब एक हजार ट्रक मालसामान काठमाडौं उपत्यकातर्फ जाने गर्छन्। ढुवानी रोकिएकाले करिडोरका उद्योगहरूको उत्पादन ठप्प हुने र भन्सारमा सामान थुप्रिएर आयातकर्ताहरू ठूलो आर्थिक दबाबमा पर्ने जोखिम बढेको छ। यसका साथै काठमाडौं उपत्यकामा सामानको आपूर्ति घटेर बजारमा उपभोग्य वस्तुको अभाव र मूल्यवृद्धि हुन सक्ने देखिन्छ।

