काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (केन्द्रीय कार्यालय) ले पार्टी अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै मधेश प्रदेशका दुई नेतालाई साधारण सदस्यताबाट एक वर्षका लागि निलम्बन गरेको छ।
कारबाहीमा पर्नेहरूमा पार्टीका केन्द्रीय समिति सदस्य रामबाबु बैठा र रामदनेश कुशवाहा रहेका छन्।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित पत्रानुसार, उनीहरूले दलको नीति, सिद्धान्त तथा विधान २०८२ ले निर्दिष्ट गरेको अनुशासन र आचरण उल्लङ्घन गर्दै पार्टी हितविपरीतका कार्य गरेको उल्लेख छ।
यसअघि मधेश प्रदेश समितिमार्फत सोधिएको स्पष्टीकरण चित्तबुझ्दो र सन्तोषजनक नभएको तथा प्रदेश समितिको सिफारिसका आधारमा भदौ ८ गतेको निर्णयअनुसार विधानको धारा १०६ बमोजिम कारबाही गरिएको हो।
निलम्बन अवधिभर दुवै जनालाई पार्टीले प्रदान गरेका सम्पूर्ण जिम्मेवारी तथा पदबाट हटाइएको छ। साथै, निलम्बन अवधिमा पार्टीको नीति, सिद्धान्त, विधान र निर्देशनको पूर्ण पालना गर्दै अनुशासनप्रति गम्भीर र जिम्मेवार रहन निर्देशन दिइएको छ।
उक्त निर्णयको बोधार्थ पार्टीको मधेश प्रदेश समिति, पर्सा जिल्ला समिति र संगठन विभागलाई आवश्यक कार्यान्वयनका लागि पठाइएको छ।

