वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धि प्रसाद (हरि) पन्तले पत्रकारितामा प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको बताएका छन् ।
मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको ११ औं बार्षिकोत्सवको उद्घाटन गर्दै सांसद भन्तले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिता क्षेत्रमा अराजकता बढ्दै गएको बताएका हुन् ।
सरकारले निजी सञ्चार माध्यमलाई विज्ञापन वितरणमा रोक लगाएको विषयमा स्पष्टिकरण दिदै सरकारले प्रणालीको व्यावस्था गर्नका लागि केही समय मात्रै रोक लगाएको र यो निरन्तर नरहने बताए ।
उनले पत्रकारिताको नाममा व्यक्तिको व्यक्तिगत र राजनीतिक चरित्र हत्या गरेको भन्दै यो प्रवृत्ति सच्चिनुपर्ने बताए । पत्रकारले समाजमा जे देख्यो त्यहि जस्ताको तस्तै लेख्नुपर्ने भन्दै कसैको व्यक्तित्व र राजनीतिक चरित्र हत्या गर्ने अभिप्रायले पत्रकारिता गर्नु पत्रकारिताको आचार संहिताभित्र नपर्ने उनको भनाई थियो ।
नेपाल पत्रकार महासंघ लेखा समिति संयोजक केसी लामिछानेले निजी सञ्चार माध्यमलाई विज्ञापन वितरणमा निषेध गरेर आर्थिक नाकाबन्दी लगाएको सरकारले अहिले फेरी लोककल्याण्कारी विज्ञापनमा समेत रकम कटौती गरेर थप आर्थिक भार बढाएको बताए ।
उनले सरकारलाई सञ्चार माध्यममा लगाएको आर्थिक नाकाबन्दीलाई हटाउन पहल गर्न पर्सा क्षेत्र नम्बर १ का सांसदलाई पनि आग्रह गरे । मध्य नेपाल सन्देश पत्रिकाकी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा,
मिडिया काउन्सिलकी कार्यवाहक अध्यक्ष बन्दना झा, नेपाल उद्योग वाणिज्य संघका निवर्तमान केन्द्रीय सदस्य डा.सुवोध गुप्ता लगायतले शुभकामना व्यक्त गरेका थिए ।
बार्षिकोत्सवको अवसरमा मध्य नेपाल सन्देशले मिडिया काउन्सिल मधेस प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झा, मध्य नेपाल सन्देशकी निलम पन्त, रञ्जित यादव र कपिल थापा लगायतलाई सम्मान गरेको छ ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सूर्यनारायण विकले गरेका थिए ।

