काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोजी र उद्धारका लागि सरकारले उपलब्ध सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताएका छन् ।
प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा अपेक्षा अनुसारको सफलता हासिल गर्न कठिन भइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
मन्त्रालयमा सम्पर्कविहीन कर्मचारीका परिवारजनसँग भेटघाट गर्दै उनले उद्धारमा सरकारका तर्फबाट कुनै कसर बाँकी नराखिएको स्पष्ट पारे।
पीडित परिवारलाई उद्धारको अवस्थाबारे नियमित, यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने,
‘परिवारजनसँग सम्पर्क नहुँदाको पीडा मैले महसुस गरिरहेको छु। हामीलाई प्रत्येक सेकेन्ड महत्वपूर्ण छ। नागरिक तथा कर्मचारीको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ, तर काबुबाहिरको परिस्थितिले गर्दा धेरै कुरा गर्न कठिन भइरहेको छ।’
बाढीपछि मन्त्रालयले उद्धार, समन्वय तथा पुनःस्थापनाका लागि विभिन्न कमाण्ड र कार्यसंयन्त्रमार्फत काम गरिरहेको जनाएको छ। सुरक्षा निकायहरूसँगको समन्वयमा युद्धस्तरमा उद्धार कार्य जारी रहे पनि भौगोलिक जोखिम प्रमुख चुनौती बनेको छ।
केन्द्रीय तहमा मन्त्री श्रेष्ठले अन्तरमन्त्रालय समन्वय र आवश्यक स्रोत व्यवस्थापनको नेतृत्व गरिरहका छन्, भने मन्त्रालयका सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक लगायतका उच्च अधिकारीहरू फिल्डमै खटिएका छन्।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा मन्त्री श्रेष्ठले विपद्का समयमा उद्धारजत्तिकै प्रभावकारी सूचना प्रवाहलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उद्धार सामग्री व्यवस्थापनका लागि स्पष्ट कार्यढाँचा बनाई आपूर्ति र आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने उनको धारणा थियो। ऊर्जा मन्त्रालयले उद्धार कार्यका साथै बाढीबाट प्रभावित विद्युत् प्रणाली तथा अन्य आवश्यक पूर्वाधारको पुनःस्थापनालाई समेत तीव्रताका साथ अघि बढाएको छ।

