वीरगन्ज । बीरगञ्ज महानगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी क्षेत्रमा आएको बिनाशकारी बाढीबाट प्रभावित नागरिकहरूका लागि १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।
कार्यपालिकाको भाद्र १३ गते शनिबार बसेको बैठकले उक्त सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पारित गरेको हो।
सहयोग रकमको स्रोतहरु महानगरका नगर सभा सदस्यहरूको १ महिनाको सेवा सुविधा, कुल ३२ वटै वडाको वडास्तरीय बजेटबाट प्रतिवडा १ लाख २५ हजारका दरले प्राप्त रकम, महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबबाट मुख्य सचिवस्तरीय निर्णयानुसार कट्टा गरिएको रकम, बाँकी अपुग रकम महानगरको प्रकोप व्यवस्थापन कोषबाट व्यहोरिने जनाएको छ ।
महानगरपालिकाले विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र उद्धार एवं राहतको कामना गरेको छ।
यसैगरी, बीरगञ्जका कुनै नागरिक बाढी प्रभावित क्षेत्रमा फसेको वा उद्धार आवश्यक परेको जानकारी आएमा तत्काल उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहहरूसँग आवश्यक समन्वय मिलाइएको प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख कीर्तिराज सुवेदीले जानकारी दिए ।

