धादिङ । नदीले बगाएर ल्याएको सेफ फोड्न खोज्ने २९ जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले धादिङमा नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई रकमसहित नियन्त्रणमा लिएको हो।
सुरक्षा निकायको टोलीले उनीहरूको कब्जाबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद समेत बरामद गरेको छ।बाढी वा नदीको बहावले बगाएर ल्याएको सेफ नियन्त्रणमा लिई गैरकानुनी रूपमा फोड्ने प्रयास गरिरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको जनाइएको छ।
बरामद गरिएको रकम र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

