वीरगन्ज । देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली नागरिकको राहत तथा उद्धारका लागि वीरगन्जस्थित होटल आदर्श इनले आर्थिक सहयोग प्रदान गरेको छ।
होटलका सञ्चालक विजय सर्राफले सामाजिक उत्तरदायित्व वहन गर्दै बाढीपीडितका लागि राहत स्वरूप ५१ हजार रुपैयाँ नगद सहयोगको घोषणा गरेका हुन्।
कठिन परिस्थितिमा एकआपसमा साथ दिनु नै सच्चा नेपालीपन र मानवता भएको उल्लेख गर्दै सञ्चालक सर्राफले बाढी प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा मलम लगाउने सानो प्रयासस्वरूप उक्त रकम सहयोग गरिएको बताए।
‘एक नेपालीको रूपमा आफ्नो देश र आफ्ना नागरिकप्रति परेको विपत्तिमा सहयोग गर्नु हाम्रो दायित्व हो,’ उनले भने। प्राकृतिक विपत्तिको यस घडीमा अन्य व्यवसायी तथा सर्वसाधारणलाई पनि आ-आफ्नो ठाउँबाट बाढीपीडितको सहयोगका लागि अघि बढ्न होटल प्रशासनले अपिल गरेको छ।

