वीरगञ्ज । सरकारले गठन गरेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन कार्यदलले मंगलबार कारखाना परिसरको स्थलगत निरीक्षण गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत भदौ १ गते श्रीकान्त यादवको संयोजकत्वमा सरकारले कार्यदल गठन गरेको थियो ।
सोही कार्यदलले वीरगञ्ज चिनी कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न निरीक्षण गरेको हो ।
२०५८ सालमा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले चिनी कारखाना घाटामा गएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।
खारेजीमा परेको कारखानाको वर्तमान अवस्था, विगतमा भएका निर्णय, पुनः सञ्चालनका लागि यसअघि तयार भएका अध्ययन तथा प्रतिवेदन र अब चाल्नुपर्ने कदमबारे कार्यदलले अध्ययन गर्नेछ।
निरीक्षणका क्रममा कारखाना परिसरमा रहेका भवन, कारखानाका संरचना, मेसिनरी तथा पार्टपुर्जाको अवस्थाबारे जानकारी लिइएको छ।
साथै, पुराना संरचना तथा उपकरणमध्ये पुनः प्रयोग गर्न सकिने अवस्थाबारे समेत अध्ययन भइरहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजनल ईञ्जिनियर श्रीकान्त यादव तथा सदस्यमा मन्त्रालयकी शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्माको टोली अहिले चिनी कारखानाको बाहिरी क्षेत्र निरीक्षण गरेका छन् ।
दोस्रो चरणमा फेरी भित्र मेशिनको अवस्थाको बारेमा निरीक्षण गर्ने कार्यदल संयोजक श्रीकान्त यादवले जानकारी दिए ।
मन्त्रालयले कार्यदललाई अध्ययन पूरा गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ। प्रतिवेदनका आधारमा वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता, आवश्यक लगानी, संरचना तथा आगामी कार्ययोजनाबारे सरकारले निर्णय लिनेछ ।

