वीरगन्ज । नेपालमा प्रेस स्वतन्त्रतामाथि चौतर्फी आक्रमण भईरहँदा आचार संहिता उल्लंघन गर्नमा गैर सञ्चारक्षेत्र भन्दा सञ्चार क्षेत्र कै संख्या बढी देखिएको छ ।
बाराकी तीन बर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका आरोपितको बयान भनी सम्प्रेषण गरेको मिडिया सामग्रीको प्रेस काउन्सिल नेपालले गरेको अनुगमनका क्रममा गैरसञ्चार क्षेत्र भन्दा सञ्चार क्षेत्रले नै बढी आचार संहिता उल्लंघन गरेको पाईएको हो ।
बलात्कारपछि हत्या घटनामा पक्राउ परेका आरोपित एक नाबालकले प्रहरीलाई दिएको बयान भनेर सञ्चार माध्यम र सामाजिक सञ्जालामा आएका भिडियो सामग्री प्रेस काउन्सिल नेपालले अनुगमन गरेको थियो ।
सो अनुगमनका क्रममा गम्भीर आचार संहिता उल्लंघन भएको देखिएको र त्यसमा सञ्चार माध्यम नै बढी रहेकोले तत्काल हटाउन टेलिफोन मार्फत निर्देश दिएको पनि प्रेस काउन्सिल नेपालले जनाएको छ ।
काउन्सिलको तथ्यांक अनुसार मिडियामा आएको २४ सामग्री र गैर मिडियामा आएका सामग्री १४ वटा गरी कूल ३८ वटा सामग्री रहेको र त्यसमा मिडियामा २४ तथा गैरमिडियामा १४ वटा गरी जम्मा ३७ वटा मिडिया र गैर मिडियामा सामग्री पोष्ट गरिएको र त्यस मध्य २१ वटा मिडियालाई फोन मार्फत हटाउन निर्देशन दिईएको प्रेस काउन्सिलले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
२१ वटा सञ्चार माध्यममा आचार संहिता प्रतिकूल सामग्रीहरु सम्प्रेषण गरिएको पाईएकोेले तत्काल हटाउन निर्देशन दिईएको जनाएको छ ।

