वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषध गाँजा र मोटरसाइकलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
छिपहरमाई गाउँपालिका–५ भिस्वास्थित सशस्त्र प्रहरी बल, नेपाल एफ.ओ.बि. जयमंगलापुरबाट खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा उक्त गाँजा बरामद भएको हो।
सशस्त्र प्रहरीले सवारी साधनको चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्की तथा सिटमुनि लुकाएर लैजाँदै गरिएको ५ किलोग्राम गाँजा जस्तो देखिने प्रतिबन्धित पदार्थ फेला पारेको जानकारी दिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (स.प्र.ना.उ.) मोहनराज निरौलाका अनुसार बरामद गाँजा, प्रयोग गरिएको मोटरसाइकल र पक्राउ परेका दुवै भारतीय नागरिकलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

