वीरगन्ज । विभिन्न दलहरु मिलेर बनेको ‘अग्रगामी मोर्चा’ को मधेस प्रदेश अन्तर्गतको पर्सा, बारा रौतहट जिल्लाको समन्वय समितिको बैठक वीरगन्जमा सम्पन्न भएको छ ।
मोर्चा गठनपछि पहिलो पटक मधेस प्रदेशस्तरीय बैठक सम्पन्न गरी जिल्ला तहमा पनि सक्रियता बढाएको छ । प्रगतिशिल लोकतान्त्रिक पार्टीका मधेस प्रदेश अध्यक्ष अमिताभबच्चन दासको अध्यक्षतामा बसपार्क स्थित पशुपति थकाली भान्सा घरमा आईतबार सम्पन्न बैठकले असोज ३ गते अग्रगामी मोर्चाको वीरगन्जमा आयोजना गर्ने भेला तथा प्रशिक्षणका लागि विभिन्न समितिहरु गठन गरेको छ ।
बैठकले मूल व्यावस्थापन तथा जनपरिचालन समिति, प्रचारप्रसार उपसमिति, आर्थिक उपसमिति, अग्रगामी मोर्चा जिल्ला समन्वय समिति गठन र विविध निर्णय गरेको छ ।
बैठकले जसपा नेपालबाट गजानन्द यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मधेस प्रदेश अध्यक्ष अमिताभबच्चन दास, आम जनता पार्टीका मधेस प्रदेश अध्यक्ष उमेश कुश्वाहा, पर्सा विश्वराज पटेल, बारा राजकिशोर साह र रौतहटबाट नरेश तुराहा,
जनमत पार्टी पर्सा अध्यक्ष ओमप्रकाश सर्राफ, बारा अध्यक्ष शिवनाथ पटेल र रौतहट अध्यक्ष विकास कुमार यादव तथा घटक दलका जिल्ला अध्यक्षहरु रहने गरी मूल व्यावस्थापन तथा परिचालन समिति सर्वसम्मत निर्णय गरेको छ ।
त्यस्तै प्रचारप्रसार उपसमिति र आर्थिक उपसमितिमा पनि सोही अनुसारको सदस्यहरु रहने गरी निर्णय भएको प्रलोपा मधेस प्रदेश अध्यक्ष अमिताभबच्चन दासले जानकारी दिए । त्यस्तै मोर्चाको जिल्ला समन्वय समिति पनि गठन गर्ने निर्णय गरेको छ ।
पर्सामा प्रलोपा, रौतहटमा आजपा र बारामा जसपा र आजपाले समन्वय गर्ने सर्वसम्मतले निर्णय गरेको छ । बैठकले बाराको जितपुरसिमरा वडा नम्बर–१ की गरिमा चौधरीको हत्यारालाई कारवाही गर्न कानून संसोधन गर्न सरकारसँग माग गरेको छ ।
साथै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई उचित न्याय दिलाउन पनि सरकारसँग माग गरेको छ । बैठकमा जसपा नेपालका महासचिव लालबाबु राउत गद्दी, प्रलोपाका केन्द्रीय परिषद अध्यक्ष अशोक जयसवाल, जसपाका अनिल कुमार सिंह, संघीय समाजवादीका समिर खान लगायतको विशेष उपस्थिति रहेको थियो ।

