वीरगञ्ज। शिक्षा क्षेत्रमा ५० बर्षको ऐतिहासिक विरासत बोकेको वीरगन्जको गौतम स्कूल सामाजिक सेवामा समेत सक्रिय रहेको छ । विद्यार्थीहरुलाई सामाजिक सेवामा समेत समर्पित हुन प्रेरित गर्ने उद्देश्यले गठन गरिएको गौतम समाज कल्याण संस्था (GASWEL_ ले नारायणी अस्पताल परिसरमा निःशुल्क भोजन वितरण अभियान सञ्चालन गरेको छ।
विद्यालयको ५० औं बर्ष यात्राको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा करिब ५०० जनाभन्दा बढी बिरामीका कुरुवा, आफन्त तथा असाहाय आमजनतालाई भोजन गराइएको विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले जानकारी दिए ।
अभियानलाई सफल बनाउन वीरगञ्ज समाज सेवा संस्था र यसका सम्पूर्ण सदस्यहरूले विशेष सहयोग पुर्याएका थिए। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा राष्ट्रिय सेवा दल (NCC) क्याडेटहरू लगायतको सक्रिय सहभागिता रहेको थियो।
भोजन वितरणमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी हातहरूप्रति विपद्यालय परिवारले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
यसैबीच, गौतम समाज कल्याण संस्था GASWEL ले आगामी दिनहरूमा पनि यो अभियानलाई निरन्तरता दिने जनाएको छ। संस्थाका अनुसार आवश्यकताका आधारमा प्रत्येक महिना कम्तीमा एकपटक विभिन्न स्थानमा यस्तै निःशुल्क भोजन अभियान सञ्चालन गरिनेछ।

