बिराटनगर । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालय मोरङको नयाँ भवन उद्घाटन गर्दै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै मर्यादित रोजगारी सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक नीतिगत तथा संरचनागत सुधार अघि बढाएको बताएका छन्। नयाँ भवनबाट सेवा प्रवाह थप सहज, प्रभावकारी र प्रणालीबद्ध रूपमा सञ्चालन हुने विश्वास उनले व्यक्त गरे।
समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले युवाहरूलाई केवल स्वदेशमै बस्न आग्रह गरेर मात्र नपुग्ने भन्दै यहाँको रोजगारीलाई वास्तवमै सुरक्षित, मर्यादित र सम्मानजनक बनाउनुपर्नेमा जोड दिए। बदलिँदो श्रम बजार र श्रमिकको आकांक्षालाई सम्बोधन गर्न मन्त्रालयले पहिलो पटक नयाँ श्रम नीति निर्माणका साथै श्रम ऐन संशोधनको प्रक्रिया अघि बढाएको जानकारी उनले दिए।
सरकारले यो वर्षलाई ुरोजगार प्रवर्द्धन दशकु घोषणा गरेको उल्लेख गर्दै मन्त्री यादवले कृषि, पर्यटन, हरित रोजगारी र केयर सेवा जस्ता क्षेत्रमा रोजगारी बढाउने तयारी भइरहेको बताए। रोजगारी खोज्ने व्यक्ति र रोजगारदाताबीच समन्वय गराउन ‘श्रम संसार’ प्रणालीलाई परिमार्जन गरिएको र श्रम क्षेत्रको व्यवस्थापनका लागि ुक्यारोट एन्ड स्टिकु नीति अवलम्बन गरिने उनले स्पष्ट पारे। कानुन पालना नगर्ने प्रतिष्ठानलाई दायरामा ल्याउने र जिम्मेवार रोजगारदातालाई सम्मानित गर्ने संस्कृति बसाल्नुपर्ने उनको भनाइ थियो।
गत आर्थिक वर्षमा ३ हजार ८ सय ३० प्रतिष्ठान, ३ हजार ६ सय ३५ बालश्रम र २ सय २० श्रमिक आपूर्तिकर्ता कम्पनीको निरीक्षण गर्नुका साथै ७ सय ६१ श्रम विवाद समाधान गरिएको तथ्यांक प्रस्तुत गर्दै मन्त्री यादवले आगामी दिनमा यो कार्यलाई अझ तीव्रताका साथ अघि बढाउन निर्देशनसमेत दिए।

