वीरगन्ज । वीरगन्जस्थित ज्ञानदा एकेडेमीमा आयोजित भव्य विज्ञान प्रदर्शनीमा कक्षा १ देखि ११ सम्मका विद्यार्थीहरूले आफ्ना नवप्रवर्तनकारी क्षमता र प्रतिभा प्रदर्शन गरेका छन्।

एकेडेमीका प्रमुख कार्यकारी अधिकृत तथा प्रिन्सिपल राजेन्द्र प्रसाद कोईरालाको सभापतित्वमा सम्पन्न उक्त प्रदर्शनीमा विद्यार्थीहरूले आधुनिक प्रविधि, कृषि, जलवायु परिवर्तन, वातावरण प्रदूषण नियन्त्रण, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) जस्ता विविध विषयमा आधारित सिर्जनात्मक सामग्रीहरू प्रस्तुत गरेका थिए।

उक्त अवसरमा प्रमुख अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, विशिष्ट अतिथि मधेस विश्वविद्यालयका डिन डा. अञ्जय मिश्र तथा कृषि अनुसन्धान प्रादेशिक कार्यालय परवानीपुरका प्रमुख निर्देशक वैज्ञानिक विश्वेश्वर प्रसाद यादव लगायतका अतिथिहरूले प्रदर्शनीको अभिरुचिका साथ अवलोकन गर्दै विद्यार्थीहरूको क्षमता र नवीन सोचको प्रशंसा गरेका थिए। बालबालिकाहरूको उत्कृष्ट प्रदर्शन देखेर उपस्थित अभिभावकहरू समेत दङ्ग परेका थिए।

कार्यक्रममा बोल्दै प्रिन्सिपल कोईरालाले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यावहारिक रूपमा प्रस्फुटन गराउन र विद्यार्थीहरू बीच एकापसमा विचार तथा क्षमता आदानप्रदान गर्ने अवसर प्रदान गर्न प्रदर्शनी आयोजना गरिएको जानकारी दिए। व्यवस्थापन समितिको निरन्तर सहयोगका साथै शिक्षक, विद्यार्थी र कर्मचारीहरूको तीन महिना लामो अथक मिहिनेतका कारण प्रदर्शनी भव्य रूपमा सफल भएको उनले बताए।

कार्यक्रममा एकेडेमी सञ्चालक समितिका अध्यक्ष सन्दीप तुल्स्यान, सञ्चालकहरू मोहन पोद्दार, विवेक लोहिया, विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

