वीरगन्ज । विगत २४ घण्टाको अवधिमा देशका विभिन्न भूभागमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने १०५ जना घाइते भएका छन्।
साउन १९ गते सार्वजनिक गरिएको तथ्याङ्क अनुसार देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनाबाट यो मानवीय क्षति भएको हो।दुर्घटनामा परेर कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा एकरएक जनाको मृत्यु भएको छ।
विवरण अनुसार कोशी प्रदेशमा सवारी दुर्घटनाका कारण एक जनाको ज्यान जानुका साथै ११ जना घाइते भएका छन्। त्यसैगरी सुदूरपश्चिम प्रदेशमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
यस अवधिमा अन्य प्रदेशहरूमा भने मानवीय ज्यान जाने घटना नभए पनि घाइते हुनेको सङ्ख्या उच्च रहेको छ। लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ३२ जना घाइते भएका छन् भने मधेश प्रदेशमा २९ जना र गण्डकी प्रदेशमा २० जना घाइते भएका छन्।
काठमाडौँ उपत्यकामा भएका दुर्घटनाहरूमा १७ जना घाइते भएका छन्। त्यसैगरी कर्णाली प्रदेशमा चार जना र बागमती प्रदेशमा तीन जना घाइते भएको तथ्याङ्क छ।

