वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणको लागु औषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
विन्दवासिनी गाउँपालिका वडा नं. ५ स्थित सडकखण्ड हुँदै लागु औषध लुकाएर भिष्वातर्फ लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २०७ किलो गाँजासहित चालक र सवारी साधन नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप गाडीबाट उक्त गाँजा बरामद गरेको जनाएको छ।
गाडीभित्र सिमेन्टको बोराभित्र लुकाइछिपाई राखिएको अवस्थामा गाँजा फेला परेको थियो। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उप–महानगरपालिका वडा नं.१३ बस्ने ४८ वर्षीय कृष्णा लामा रहेका छन्।
बरामद गाँजा, पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवत्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए।

