वीरगन्ज । पर्साको छिपहरमाई गाउँपालिकामा ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद भएको छ।
छिपहरमाई गाउँपालिका वडा नं.– १ मिर्जापुरस्थित एक आँपको बगैँचामा लागूऔषध लुकाएर राखिएको विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले शनिबार राति करिब ९ः३० बजे उक्त गाँजा बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय पोखरिया पर्सा र सशस्त्र प्रहरी बल (बीओपी) मिर्जापुरबाट खटिएको संयुक्त टोलीले बगैँचामा खानतलासी गर्दा घाँसभित्र लुकाइछिपाइ राखिएका १३ वटा पोका बरामद गरेको थियो।
ती पोकाहरू खोलेर हेर्दा १४० किलोग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
बरामद गरिएको गाँजा नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक मल्लले जनाए ।

