वीरगन्ज । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ मा लक्ष्यको साढे ६०.६४ प्रतिशत आन्तरिक राजस्व संकलन गरेको छ ।
मधेस प्रदेश अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार असार मसान्तसम्म कुल ९ अर्ब ५० करोड ८३ लाख रुपैयाँ आन्तरिक राजस्व उठाउने वार्षिक लक्ष्य राखिएकोमा ५ अर्ब ७६ करोड ५६ लाख २४ हजार रुपैयाँ ६०.६४% संकलन भएको हो ।
प्रदेशको आन्तरिक राजस्वमा सबैभन्दा ठूलो योगदान सवारी साधन कर र घरजग्गा रजिष्ट्रेशन दस्तुरको रहेको छ । सवारी साधन कर तर्फ ३ अर्बको लक्ष्य राखिएकोमा २ अर्ब २७ करोड ८० लाख ९७ हजार रुपैयाँ ७५.९४% संकलन भएको छ ।
तर, घरजग्गा कारोबारमा आएको मन्दीका कारण घरजग्गा रजिष्ट्रेशन दस्तुर भने लक्ष्यको आधा मात्र अर्थात् ५१.५८ प्रतिशत अर्थात १ अर्ब ७७ करोड ९५ लाख २२ हजार रुपैयाँ असुली भएको छ ।
केही शीर्षकहरूमा भने लक्ष्यभन्दा अत्यधिक बढी राजस्व संकलन भएको छ । लक्ष्य भन्दा बढी राजस्व संकलन भएका मध्ये बीमा दावी प्राप्तिमा ३ लाखको सानो लक्ष्य राखिएकोमा ८ करोड ३३ लाख ९६ हजार रुपैयाँ संकलन भई २७ हजार ७९८ प्रतिशत प्रगति देखिएको छ ।
यस्तै, दहत्तर–बहत्तरको बिक्रीबाट लक्ष्यको ४०३.१५ प्रतिशत (२० करोड १५ लाख ७३ हजार रुपैयाँ), परीक्षा शुल्कबाट २८३.७६ प्रतिशत अर्थात ७ करोड ९ लाख ४० हजार रुपैयाँ र यातायात क्षेत्रको आम्दानीबाट १०५.३३ प्रतिशत १२ करोड ६३ लाख ९२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।
अर्कोतर्फ, चालक अनुमतिपत्र तथा सवारी दर्ता दस्तुरमा ५३.०४ प्रतिशत ७९ करोड ५६ लाख २९ हजार रुपैयाँ र व्यवसाय रजिष्ट्रेशन दस्तुरमा ४६.७४ प्रतिशत मात्र प्रगति भएको छ ।
निजी धारा शुल्क, नहर तथा कुलो उपयोग शुल्क र अन्य प्राकृतिक स्रोतको आय जस्ता शीर्षकमा भने असुली शून्य रहेको छ ।

