काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव तीव्र बनेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास अवस्थित रहेको छ।
यस मौसमी प्रणालीका कारण यतिबेला देशभरिको आकाशमा अधिकांश बादल लागेको छ। महाशाखाको पछिल्लो विवरण अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
यस्तै, कर्णाली प्रदेशको पनि एक–दुई स्थानमा पानी परिरहेको छ। न्यून चापीय रेखा तराई क्षेत्र नजिकै रहेकाले आगामी केही दिन मौसमी गतिविधि थप बढ्न सक्ने सम्भावना छ।
वर्षा भइरहेका क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाउन र मौसम सम्बन्धी अपडेटहरू नियमित रूपमा नियाल्न महाशाखाले सबैमा आग्रह गरेको छ।

