वीरगन्ज । सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथ अन्तर्गत सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोक सडक खण्डमा सडक सीमा खाली गर्न कडा निर्देशन दिएको छ ।
कार्यालयले शनिबार नै सूचना जारी गर्दै सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटर भित्र पर्ने सम्पूर्ण संरचनाहरू तुरुन्त खाली गर्न आह्वान गरेको हो ।
अहिले उक्त क्षेत्रमा सडक सीमा संरक्षणको कार्य तीव्र रूपमा अघि बढिरहेकाले सडक क्षेत्र मिचेर बनाइएका पसल, घर वा अन्य जुनसुकै संरचनाहरू तत्काल हटाउन भनिएको छ ।
डिभिजन कार्यालयले सडक सीमाभित्र रहेका घरहरूमा कोही पनि नबस्न, घरभित्रका सामानहरू सुरक्षित रूपमा सार्न तथा त्यस क्षेत्रमा सञ्चालित होटल, लज र अतिथि गृहहरूमा पाहुना नराख्न समेत सख्त सचेत गराएको छ ।
यसका साथै सडक विस्तार वा अन्य गुड्ने क्रममा भत्किएका घरका धनीहरूलाई घर भत्केको १५ दिनभित्र आफ्ना भत्किएका सरसामान र भग्नावशेषहरू आफैँ हटाएर सडक सीमा संरक्षण कार्यमा सहयोग पुर्याउन समेत अनुरोध गरेको छ ।
तोकिएको समयभित्र सडक सीमा खाली नगरिएमा कानुन बमोजिम अघि बढ्ने संकेत समेत कार्यालयले दिएको छ । बैशाख ६ र ७ गतेदेखि सडक विस्तारका लागि डोजर लगाउन शुरु गरेको सडक डिभिजन कार्यालयले यसअघि असार २ गते पनि सार्वजनिक सूचना निकालेको थियो ।
त्यसपछि सडक विस्तार शुरु गरेको थियो । सडक डिभिजन कार्यालयको पटक पटकको सूचना र संरचनाहरु भत्काउने क्रम जारी रहेपनि मुख्य सडकका केही घर तथा सटरहरुमा अझैपनि पसल थापेर बसेको भन्दै मासिक सूचना निकाल्न थालेको छ ।

