सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित लामा होटलमा बास बसेका एक भारतीय नागरिकको सोमबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको कोलकत्ताका ६० वर्षीय अरुप साँधु रहेका छन्।
प्रहरीका अनुसार साँधु आइतबार राति विश्वकप फुटबलको फाइनल खेल हेरेर सुतेका थिए। सोमबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनीसँगै रहेका साथीले उपचारका लागि अस्पताल पुर्याएका थिए। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाले प्रहरी घटनास्थल पुग्दा साँधु अचेत अवस्थामा रहेको बताए। उनले भने, ‘तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गर्नुभयो। घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।’
मृतकसँगै रहेका सर्लाहीको हरिवन नगरपालिका–१ निवासी ४० वर्षीय जिवन प्रधानले साँधुलाई बिहान उठाउन खोज्दा कुनै प्रतिक्रिया नआएपछि आफूले होटल व्यवस्थापनलाई खबर गरेको बताए।
उनले भने, ‘हामीले राति सँगै फुटबल हेरेर सुतेका थियौँ। बिहान उठाउन खोज्दा नउठेपछि तत्काल अस्पताल लगेका हौँ। यस्तो घटना होला भन्ने कल्पनासमेत गरेका थिएनौँ।’
प्रहरीले साँधुको शव शल्यपरीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखेको जनाएको छ। साथै अनुसन्धानका लागि जिवन प्रधानलाई सोधपुछमा राखिएको छ।
प्रहरी निरीक्षक थापाले मृतकका भारतस्थित आफन्तलाई खबर गरिसकिएको र आफन्त आएपछि कानुनी प्रक्रिया पूरा गरी शव जिम्मा लगाइने जानकारी दिए।

