वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले आर्थिक बर्ष २०८२/८३ मा २ खर्ब ४३ अर्ब ८२ करोड रुपैंया राजस्व संकलन गरेको छ ।
मुलुकको प्रमुख प्रवेशद्वारको रुपमा रहेको वीरगन्ज भन्सार कार्यालयलाई भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई आर्थिक बर्ष २०८२/८३ मा २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैंयाको लक्ष्य दिएको थियो ।
भन्सार कार्यालयले लक्ष्यको ८९.१९ प्रतिशत संकलन गरेको राजस्व संकलन गरेको हो । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०८२/०८३ असार जेठ र असार महिनामा राजस्व असुलीमा वृद्धि भएको छ ।
आर्थिक बर्षको अन्तिम महिना असारमा मात्रै वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ९१.१८ प्रतिशत अर्थात २२ अर्ब चार करोड ७० लाख राजस्व संकलन भएको छ ।
भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७४ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड, पुसमा २० अर्ब २० करोड राजस्व संकलन गरेको छ ।
त्यस्तै माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड, वैशाखमा २१ अर्ब ७४ करोड, जेठमा २२ अर्ब ३२ करोड र असारमा २२ अर्ब ४ करोड राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्षको अन्तिम त्रैमासिकमा संकलन झनै सुदृढ बनेको देखिएको छ । अन्तिम त्रैमासिक अवधि चैतमा २२ अर्ब ८२ करोड, वैशाखमा २१ अर्ब ७४ करोड र जेठमा २२ अर्ब ३२ करोड रुपैयाँ उठेको वीरगन्ज भन्सार कार्यालयका प्रमु्ख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले बताए ।
यसरी वीरगन्ज भन्सार कार्यालयले दैनिक औसत ७५.६७ प्रतिशतले राजस्व संकलन गरेको छ । विगतका बर्षहरुमा पनि वीरगन्ज भन्सार कार्यालयले राजस्व लक्ष्य मेटाउन सकेको थिएन ।
भन्सार विभागले दिएको राजस्व लक्ष्य अनुसार वीरगन्ज भन्सार कार्यालयको राजस्व असुल हुन बाँकी २९ अर्ब ५५ करोड रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालय नेपालको राजस्व संकलन गर्ने भन्सार मध्य दोस्रो ठूलो नाका हो ।
खासगरी भारत र तेस्रो मुलुकसँगको आयात–निर्यात व्यापारको प्रमुख नाका वीरगन्ज नै भएकाले यहाँबाट सङ्कलित राजस्वले राष्ट्रिय राजस्वमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
यद्यपि आर्थिक बर्षको अन्त्यमा भन्सार कार्यालयले विभागले दिएको राजस्व असुलीको लक्ष्य भेट्टाउन भने सकेको छैन । अन्तराष्ट्रिय व्यापारमा आएको मन्दी, औद्योगिक कच्चा पदार्थ आयातमा भएको कमी र खासगरी अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारणले नेपाल सरकारले भन्सार शुल्क घटाएकोले पनि राजस्व असुलीमा प्रभाव परेको भन्सार प्रशासक मैनालीले बताए ।
नेपालको आन्तरिक आर्थिक गतिविधिहरु नबढ्नु, लगानी, पूर्वाधार विकासले गति सुस्त हुनु भन्सार विन्दुमै अधिकतम खुद्रा मूल्य अनिवार्य गर्दा पनि व्यापारीहरुको व्यापार व्यावसाय गर्ने मनोबल कमजोर हुनुका साथै खुला सीमानाका कारणले अनौपचारिक व्यापार नियन्त्रण हुन नसक्दा भन्सार राजस्व असुलीमा प्रभाव परेको प्रमुख प्रशासक मैनालीको भनाई छ ।