वीरगन्ज । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक विवाद पुनः सामाजिक सञ्जालमा छताछुल्ल भएको छ।
पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र पूर्वसंरक्षक रेशमलाल चौधरीबीच राजनीतिक अस्तित्व र सुदूरपश्चिम प्रदेशको राजनीतिक तरंगलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा जुहारी चलेको हो।
अध्यक्ष श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै आफ्नै घरमा आगो लगाउनेले छिमेकीको घर जोगाउँछु भन्नु हास्यास्पद हुने टिप्पणी गरेकी छन्। हिजो आफ्नै पार्टीभित्र कहिले विशेष राष्ट्रिय भेला त कहिले अध्यक्ष हटाउने अभियान चलाएर संस्थामाथि प्रहार गरिएको भन्दै उनले आक्रोश व्यक्त गरेकी छन्।

जुन प्रदेशमा आफ्नै दलको प्रतिनिधित्व नै छैन, त्यहाँ अरू दलका माननीयलाई बोलाएर सरकारको भविष्य तय गर्ने दाबी गर्नु राजनीतिक प्रभाव नभएर भ्रम मात्र भएको उनको भनाइ छ। राजनीतिमा संस्थाभन्दा व्यक्ति ठूलो बन्न खोज्ने प्रवृत्तिले अन्ततः आफैलाई कमजोर बनाउने भन्दै उनले आफ्नो घरको मूलो नजोगाउनेले अर्काको खेत जोत्न खोजेको आरोप लगाएकी छन्।
अध्यक्ष श्रेष्ठको उक्त प्रहारको जवाफ दिँदै रेशमलाल चौधरीले पनि सामाजिक सञ्जालमै कडा प्रतिवाद गरेका छन्। चौधरीले हैसियत बनाइदिनेको हत्या गर्न खोज्नेहरू कहिल्यै कसैको हुन नसक्ने उल्लेख गर्दै अति र अत्याचार नगर्न चेतावनी दिएका छन्।
घरमा आफूले भ्वाङ नपारेको दाबी गर्दै उनले आफैले भित्तामा भ्वाङ पारेर अर्काको घर ताक्नेले बहुलट्ठिपन प्रदर्शन गरिरहेको आरोप लगाएका छन्।
जुन गोली पड्काएर आफूलाई सिकार गर्न खोजिएको हो, त्यही गोली उता फर्किए आफै मरिने चेतावनी समेत उनले दिएका छन्।

अर्काको सत्यानास होस् भन्ने मान्छे कहिल्यै पुजारी हुन नसक्ने भन्दै चौधरीले आफ्नो घर सम्हाल्न र अर्काको घरमा आगो नलगाउन श्रेष्ठलाई सुझाव दिएका छन्।

