काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने संस्थागत तथा व्यक्तिगत ठगीविरुद्धको कारबाही र उजुरी फर्स्योट प्रक्रियालाई तीव्र पारेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्मको ९ महिनाको अवधिमा विभागले ८८२ वटा संस्थागत उजुरी र व्यक्तिगत मुद्दामा अनुसन्धान सम्पन्न गरी पीडितहरूलाई १२ करोड ६७ लाख ३९ हजार रुपैयाँ क्षतिपूर्ति भराएको छ।
पछिल्लो समय विभागले थालेको तीव्र सक्रियताका कारण मुद्दा फर्स्योट र पीडितले न्याय पाउने क्रममा निकै ठूलो सुधार देखिएको छ।
विभागको पछिल्लो ३ महिनाको तथ्यांक अनुसार कूल १ हजार ४ वटा संस्थागत उजुरी र व्यक्तिगत मुद्दाहरू मेलमिलापमार्फत टुङ्ग्याइएका छन्।
यस प्रक्रियाबाट वैदेशिक रोजगारका नाममा ठगिएका पीडितहरूले ३० करोड ७ लाख ४२ हजार ३ सय ४ रुपैयाँ क्षतिपूर्ति रकम प्राप्त गर्न सफल भएका छन्।
विभागले मुद्दाको अनुसन्धान तथा फर्स्योट दरमा अभूतपूर्व प्रगति भएको जनाएको छ। पछिल्लो ३ महिनाको अवधिमा मात्रै मुद्दा अनुसन्धान र फर्स्योट हुने दरमा २४१।५ प्रतिशतले वृद्धि भएको छ।
यसैगरी, पीडितहरूले क्षतिपूर्ति रकम प्राप्त गर्ने दरमा समेत ६७२।८ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न र पीडितलाई समयमै न्याय दिलाउन विभागले चालेको कडा कदम र मेलमिलाप नीतिले गर्दा यो नतिजा सम्भव भएको विभागले उल्लेख गरेको छ।

