वीरगन्ज । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को संयुक्त आयोजना तथा वीरगन्ज उद्योग वाणिज्य संघको व्यवस्थापनमा आइतबार वीरगन्जमा ‘रोजगार मेला’ आयोजना हुदैछ ।
रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताहरूबीच प्रत्यक्ष सम्पर्क गराई बजारको मागअनुसार दक्ष जनशक्ति उपलब्ध गराउने उद्देश्यले यो मेला आयोजना गरिएको हो ।
मेलाले रोजगारदातालाई आफ्नो आवश्यकता अनुसारको क्षमतावान् जनशक्ति पहिल्याउन र बेरोजगार युवाहरूलाई आफ्नो सीप तथा योग्यता अनुसारको काम पाउने सुनौलो अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका सहसचिव एवं रोजगार मेलाका संयोजक अनुप अग्रवालका अनुसार वीरगन्जको होटल भिसुवामा हुने मेलामा बारा–पर्सा औद्योगिक करिडोरका झण्डै तीन दर्जन साना तथा ठूला उद्योग प्रतिष्ठानहरूले आफ्ना स्टलहरू राख्नेछन् ।
मेलामा सहभागी उद्योगहरूले आफूलाई आवश्यक पर्ने जनशक्तिको पहिचान गर्ने र योग्य उम्मेदवारलाई रोजगारीको अवसर दिनेछन् ।
यस मेलामा कम्तीमा पाँच सय जना रोजगारका आकांक्षीहरूले प्रत्यक्ष अवलोकन गरी रोजगारदाताहरूसँग साक्षात्कार गर्ने एउटा माध्यम बन्ने नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले बताए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को विशेष कार्यक्रमअन्तर्गत महासंघ र वीरगन्ज उद्योग वाणिज्य संघबीचको आपसी सहकार्यमा यो कार्यक्रम सम्भव भएको हो ।
औद्योगिक क्षेत्रमा दक्ष श्रमिकको अभाव खड्किरहेको र अर्कोतर्फ युवाहरू रोजगारीको खोजीमा भौंतारिइरहेको वर्तमान अवस्थामा यस मेलाले दुवै पक्षबीचको खाडल पुर्ने अपेक्षा गरिएको छ ।
मेलामा आउने रोजगारभोगीहरूले विभिन्न उद्योगका प्रतिनिधिहरूसँग सीधा संवाद गरी आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर पाउनेछन् ।

