कलैया । बाराको कलैया उपमहानगरपालिका–२१ भौडाहकी सरिया खातुनको मृत्यु हुनुअघिको एक भिडियो सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको छ।
उक्त भिडियोमा केही स्थानीय युवाहरूले खातुनलाई गालीगलौज, धम्की तथा दुर्व्यवहार गरेको देखिएपछि स्थानीय स्तरमा व्यापक चासो र आक्रोश पैदा भएको छ। भिडियो सार्वजनिक भएसँगै प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र पारेको छ।
खातुनको मृत्यु र सार्वजनिक भिडियोमा देखिएको दुर्व्यवहारबीच प्रत्यक्ष सम्बन्ध भए÷नभएको विषयमा इलाका प्रहरी कार्यालय सिमराले विस्तृत छानबिन सुरु गरेको छ।
प्रहरीले प्राविधिक परीक्षण, भिडियोको सत्यतथ्य जाँच तथा सम्बन्धित व्यक्तिहरूसँग बयान लिने कार्यलाई अगाडि बढाएको जनाएको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीका अनुसार घटनामा संलग्न रहेको आरोपमा हालसम्म एक जनालाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिमाथि जबरजस्ती उद्योग तथा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढाएको छ।
घटनामा संलग्न भनिएका अन्य फरार व्यक्तिहरूको खोजी कार्य समेत तीव्र पारिएको डीएसपी क्षेत्रीले जानकारी दिए।
यसैबीच, स्थानीय बासिन्दा, मानव अधिकारकर्मी तथा विभिन्न सरोकारवाला पक्षहरूले घटनाको निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन्।
उनीहरूले कुनै पनि राजनीतिक वा सामाजिक दबाबमा नपरी दोषीलाई कडा कानुनी कारबाही गर्न प्रशासनसँग आग्रह गरेका छन्।
प्रहरीले भने घटनाको वस्तुनिष्ठ रूपमा परीक्षण भइरहेको र पोस्टमार्टम तथा अनुसन्धान प्रतिवेदन आएपछि थप तथ्यहरू बाहिर आउने स्पष्ट पारेको छ।

