वीरगन्ज । वीरगन्जमा मधेस प्रदेश स्तरीय एकदिने रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, वीरगन्ज उद्योग वाणिज्य संघ र नेपाल युवा उद्यमी मञ्चको समन्वय तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को सहयोगमा रोजगार मेला आयोजना गरेको हो ।
रोजगार मेलाको उद्घाटन गर्दै मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिस कुमार पटेलले मधेश प्रदेश सरकारले प्रादेशिक अर्थतन्त्रलाई चलायमान बनाउन, औद्योगिक लगानी आकर्षित गर्न र रोजगारीका अवसरहरू बढाउन आगामी आर्थिक वर्षको बजेटमा विशेष आर्थिक तथा नीतिगत व्यवस्था गरेको बताए ।
उनले प्रशासनिक झन्झट अन्त्य गर्दै एक हप्तादेखि १० दिनभित्र अनलाइनबाटै उद्योग दर्ता र नवीकरण हुने प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिए ।
मन्त्री पटेलका अनुसार नयाँ व्यवस्था ‘फेसलेस’ र नागरिक वडापत्रको मापदण्ड अनुरूप हुने भएकाले यसले व्यवसायीहरूको प्रशासनिक लागत र समय बचत गर्ने बताए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत वित्तीय प्रोत्साहनका कार्यक्रमहरू समेत अघि सारेको छ । आन्तरिक श्रम बजारमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्योगहरूलाई विशेष छुट, सम्मान र नवीकरण शुल्कमा सहुलियत दिने नीति सरकारले लिएको मन्त्री पटेलले बताए ।
युवा उद्यमीहरूलाई लक्षित गर्दै सरकारले प्रादेशिक स्टार्टअप फण्ड, बिनाधितो कर्जा र व्यवसायिक ऋणमा ब्याज अनुदानको शीर्षकमा बजेट विनियोजन गरेको छ, जसले उत्पादनशील क्षेत्रमा पुँजी परिचालन बढाउने विश्वास गरिएको छ ।
रोजगार मेलामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दीलसुन्दर श्रेष्ठले निजी क्षेत्र नै दिगो रोजगारी र आर्थिक वृद्धिको मुख्य इन्जिन भएको बताए ।
उद्योग फस्टाउँदा रोजगारी, रोजगारीले आय, र आयले समग्र अर्थतन्त्र सुदृढ हुने आर्थिक चक्रको चर्चा गर्दै उनले श्रम बजारको माग अनुसार सीप विकास गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले उद्योगहरूले दक्ष जनशक्ति नपाउने र युवाहरूले रोजगारी नपाउने विद्यमान खाडललाई पुर्न यो मेला ुमिलन बिन्दुु बनेको धारणा राखे ।
महासंघका सहायक निर्देशक हरि पौडेलका अनुसार सीप आवश्यकता सर्वेक्षणको निर्देशिका आधारमा आयोजित यो मेलाले मधेशको श्रम बजारको यथार्थ उजागर गरेको छ ।
सम्पन्न उक्त मेलामा ४०३ जनाले पूर्वदर्ता गराएका थिए भने प्रत्यक्ष सहभागी भएका झण्डै ५०० युवाहरूमध्ये धेरैलाई दक्षताका आधारमा रोजगारीका लागि प्रारम्भिक छनोट गरिएको मेला संयोजक अनुप अग्रवालले जानकारी दिए ।
मेलामा बारा, पर्सा औद्योगिक करिडोरका विभिन्न बहुराष्ट्रिय, राष्ट्रिय तथा स्थानीय उद्योग, प्रतिष्ठानहरुले स्टल राखेका थिए । मेलाको उदघाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सहइन्चार्ज मनोज चौधरी, केन्द्रीय सदस्य किशोरी कुश्वाहा, युवा नेता प्रभाकर गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।

