वीरगंज । बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, शिक्षा प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले बुधबार सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो।
सूचना अनुसार महानगरपालिका अन्तर्गत सञ्चालित मन्टेश्वरीदेखि कक्षा १२ सम्मका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू आगामी मिति २०८३ साल आषाढ ११ र १२ गते बन्द रहनेछन्।

बढ्दो अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राखी निर्देशानुसार यो सूचना प्रकाशन गरिएको महाशाखाले जनाएको छ।
यस आकस्मिक बिदाबापतको दुई दिन विद्यालयहरूको वार्षिक वर्षे बिदाबाट कट्टा हुने गरी मिलान गरिने सूचनामा उल्लेख छ।
यो निर्णयको आवश्यक समन्वय र कार्यान्वयनका लागि महानगरपालिकाका कार्यवाहक प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, तथा प्याब्सन र एन(प्याब्सन नगररजिल्ला कार्य समितिलाई समेत बोधार्थ पठाइएको छ।

