वीरगन्ज । मधेस प्रदेशका संस्थापक मुख्यमन्त्री लालबाबु राउत गद्दीले सञ्चार क्षेत्रलाई संकुचित बनाएर लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्रको भण्डाफोर गर्नुपर्ने बताएका छन् ।
मिडिया काउन्सिल मधेश प्रदेशले वीरगञ्जस्थित होटल वृन्दावनमा बिहीबार आयोजना गरेको “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” को उद्घाटन सम्बोधनमा उनले यस्तो बताएका हुन् ।
देशको परिवर्तनमा सञ्चार क्षेत्र र पत्रकारिताको योगदान अमूल्य रहेको भन्दै प्रेस स्वतन्त्रता नभए लोकतन्त्र पनि नरहने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले पत्रकारले आफूले के गर्न हुने र के गर्न नहुने भन्ने ख्याल गर्नुपर्ने बताउदै पत्रकार आचार संहिताको पालना नहुँदा पत्रकारहरु सुरक्षाको जोखिममा परेको बताए ।
लेखा समिति संयोजक केसी लामिछानेले वर्तमान सरकारले सञ्चारक्षेत्रको घाँटी निमोट्ने काम गरेको भन्दै यसको विरोधमा अहिले पेशागत सञ्जाल महासंघ पापडले आन्दोलन शुरु गरेको बताए ।
सरकारले सञ्चार माध्यममा लगाएको आर्थिक नाकाबन्दीले लोकतन्त्र नै खतराले नागरिक समाज पनि सशंकित भएको बताउदै पापडले यसको विरोध शुरु गरेको बताए ।
पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले सरकारले निजी सञ्चार माध्यमहरुलाई विज्ञापन नदिने नीति निर्णले सञ्चार गृह र पत्रकारहरु आर्थिक समस्यामा परेको बताउदै यसको विरोधका लागि सम्पूर्ण सञ्चारकर्मीहरु एकताबद्ध हुनुको विकल्प नरहेको बताए ।
महासंघ पर्साका अध्यक्ष ओमप्रकाश र विश्व पत्रकार महासंघका दिपेन्द्र चौहानले पनि पत्रकारिताका चुनौती र आचारसंहिताको महत्वबारे आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले सहभागीहरूलाई प्रशिक्षण दिदै समाजप्रतिको समाजप्रतिको ठूलो दायित्व पत्रकारिता रहेकोले विश्वसनीय, जिम्मेवार र व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
उनले मिडियाको वास्तविक मूल्याङ्कन जनताले नै गर्ने भएकाले समाचारहरू जनमुखी, निष्पक्ष र विश्वसनीय हुनुपर्ने बताए ।
सामाजिक सञ्जालमा भ्युज र मनिटाईजेशनको नाममा दर्शक र पाठकको ध्यान तान्ने होडबाजीले नागरिकका वास्तविक समस्याहरु ओझेलमा परेको बताउदै समाजको हित र नागरिकको विश्वासलाई केन्द्रमा राखेर पत्रकारिता गर्न उनको सुझाव थियो ।
विशेषगरी डिजिटल युगमा गलत तथा भ्रामक सूचनाहरू तीव्र रूपमा फैलिने भएकाले सञ्चारकर्मीहरूले थप सावधानी अपनाउनुपर्ने प्रशिक्षक झाको भनाई थियो ।
अभिमुखीकरणका क्रममा तथ्यमा आधारित समाचार सम्प्रेषण, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग र मर्यादित सञ्चार अभ्यासका विविध पक्षबारे विस्तृत छलफल गरिएको थियो।
सहभागी पत्रकारहरूले यस्ता प्रशिक्षणले आफूहरूको व्यावसायिक क्षमता बढाउन र जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा भएको कार्यक्रमले प्रदेशका सम्पूर्ण सञ्चारकर्मीहरूको क्षमता विकास गर्ने विश्वास व्यक्त गरिन् । उनले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

