वीरगन्ज । वीरगन्जस्थित बिपिसी (BPC) कलेजमा लैंगिक हिंसा रोकथाम सञ्जालको महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ।
लैंगिक हिंसा न्यूनीकरण र रोकथामका क्षेत्रमा सहकार्य गर्दै आएका विभिन्न सामाजिक संघसंस्थाहरूका प्रतिनिधिहरूको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
बैठकमा सहभागी संस्थाहरूले लैंगिक हिंसा न्यूनीकरणका लागि हालसम्म आफूहरूले गरिरहेका गतिविधिहरू र हासिल भएका उपलब्धिहरूको बारेमा विस्तृत छलफल गरेका थिए।
आगामी दिनहरूमा लैंगिक हिंसा रोकथामका लागि कस्ता खालका आवश्यक रणनीति र कार्यक्रमहरू तय गर्ने भन्ने विषयमा समेत सञ्जालका सदस्यहरूबीच गहन विचारविमर्श भएको आसमान नेपालकी लैंगिक हिंसा रोकथाम अधिकृत प्रशंसा घिमिरेले जानकारी दिईन् ।
यसैगरी आगामी कार्ययोजना र आवश्यक कार्यक्रमहरूको रूपरेखाबारे प्रकाश पार्दै सशक्त महिला समृद्ध (EWPN) नेपालकी महिला उद्यमी सहजकर्ता अन्जु राना मगरले पनि बैठकमा भविष्यका योजनाहरूबारे रचनात्मक छलफल भएको बताईन्।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी सामाजिक विकास अधिकृत प्रतिज्ञा वैद्यले स्थानीय स्तरमा काम गर्ने सामाजिक संघसंस्थाहरूका लागि एक महत्त्वपूर्ण सुझाव राखेकी थिइन्।
उनले धेरैजसो संस्थाहरू एउटै प्रकृतिको कार्यक्रम र सीमित भौगोलिक क्षेत्र वा एउटै वडामा मात्र केन्द्रित हुने गरेको पाइएकाले, अबका दिनमा कार्यक्रमहरूलाई फरक फरक स्थान र आवश्यकताका आधारमा नयाँ क्षेत्रहरूमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरिन्।
उक्त समन्वय बैठकमा आसमान नेपाल, सशक्त महिला समृद्ध नेपाल, आफन्त नेपाल, आवर संसार, र सहयात्री समाज लगायत लैंगिक हिंसा र महिला अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

