वीरगन्ज । जेठ २२ गते शुक्रबार बिहान अर्थात जुन ५ तारिकका दिन वीरगन्जको गौतम माध्यमिक विद्यालयको गेटबाहिर सदाझैँ अभिभावकहरूको भीड थियो।
विद्यालयको घण्टी बज्यो, तर यसपटक दृश्य अलि फरक र उत्साहजनक देखियो। साना–साना नानीबाबुहरू जब कक्षाकोठाबाट बाहिर निस्किए, उनीहरूका साना हातहरूमा किताबका झोला मात्र थिएनन्, एउटा–एउटा हरियो विरुवासँगै रमाएर मुस्कुराइरहेको थियो।
नर्सरीदेखि कक्षा ६ सम्मका प्रत्येक विद्यार्थीको हातमा विरुवा देखेपछि छोराछोरी लिन आएका अभिभावकहरू सुरुमा त अचम्मित परे, तर वास्तविकता थाहा पाएपछि उनीहरूको अनुहारमा खुसीको लहर छायो।

‘विश्व वातावरण दिवस त हरेक वर्ष औपचारिकतामै सिमित हुने गर्छ। तर वीरगन्जको गौतम माविले यसपटक यो दिवसलाई बिल्कुलै नयाँ र व्यवहारिक शैलीमा मनाएर समाजलाई एउटा सकारात्मक सन्देश दिएको छ।
‘हुने बिरुवाको चिल्लो पात’ भन्ने नेपाली उखान झैँ बालबालिकाहरूलाई सानै उमेरदेखि प्रकृति र पर्यावरणप्रति जिम्मेवार बनाउने उद्देश्यले विद्यालयले यो नौलो अभियान सुरु गरेको हो।

एकतिर साना नानीबाबुहरू विरुवा उपहार पाएर दङ्ग थिए भने अर्कोतिर कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरू आफ्नो सिर्जनशीलता प्रस्तुत गर्न व्यस्त थिए। विद्यालय परिसरमा वातावरण सम्बन्धी एक बृहत् कक्षा प्रदर्शनी प्रतियोगिताको आयोजना गरिएको थियो।
विद्यार्थीहरूले केवल भाषणमा मात्र होइन, आफ्नै हातले बनाएका सामाग्री र मोडेलहरूमार्फत वातावरण प्रदूषण र यसले निम्त्याएको जलवायु परिवर्तनको जोखिमलाई दुरुस्तै उतारेका थिए।
प्लास्टिकको बढ्दो प्रयोगले कसरी हाम्रो पृथ्वी सङ्कटमा पर्दैछ ? प्रदूषित वातावरण जोगाउने एकमात्र अचुक औषधि वृक्षरोपण नै किन हो भन्ने कुरा उनीहरूले आफ्ना प्रदर्शनीमार्फत प्रस्ट पारेका थिए।
प्रतिस्पर्धात्मक प्रदर्शनीमा कक्षा ९ सेक्सन ‘ए’ का विद्यार्थीहरू १३७.५ अङ्क प्राप्त गर्दै प्रथम स्थान हासिल गर्न सफल भए। उनीहरूलाई पछ्याउँदै मात्र ०.५ अङ्कको दूरीमा कक्षा ९ कै सेक्सन ‘डी’ १३७ अङ्कका साथ दोस्रो भयो।
प्रतियोगितामा कक्षा ७ को सेक्सन ‘डी’ ले तेस्रो र कक्षा ९ को सेक्सन ’बी’ ले सान्त्वना अर्थात् चौथो स्थान हासिल गरे। अंकको गणित जस्तोसुकै भए पनि, पर्यावरण जोगाउने सवालमा सबै विद्यार्थीको प्रयास उत्तिकै अब्बल र प्रशंसनीय देखिन्थ्यो।

गौतम माविले विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको सिर्जनशील कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष तथा कारोबार राष्ट्रिय आर्थिक दैनिकका मधेस प्रदेश संयोजक नीरज पिठाकोटेले रिबन काटेर गरेका थिए।
उद्घाटनकै क्रममा उनले विद्यार्थीहरूको यो प्रयासले भोलिको सुन्दर र स्वच्छ समाजको जग बसाल्ने विश्वास व्यक्त गरे। कार्यक्रमलाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्न प्रमुख अतिथि पिठाकोटेसँगै विशिष्ट अतिथिका रूपमा मानव सेवा आश्रम वीरगन्जका संस्थापक देवेश मानवसेवा र युवा सामाजिक अभियन्ता ओम कुमार झा निर्णायकको भूमिकामा थिए।
उनीहरूले विद्यार्थीहरूको बालमस्तिष्कबाट फुकेका यस्ता पर्यावरणमैत्री उपायहरू निकै व्यावहारिक र समयसान्दर्भिक रहेको बताए ।
सो अवसरमा विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री, सहायक प्रिन्सिपल ललित कर्ण, प्रशासन प्रमुख रमेश शर्मा र कोअर्डिनेटर सौराज प्रधान लगायतले विद्यार्थीहरूको हौसला बढाएका थिए।
साथै सञ्चारकर्मीहरू अभिलास गुप्ता, अर्जुन चौधरी र जगत राई लगायतको टोलीले पनि विद्यार्थीहरूले तयार पारेका सिर्जनात्मक प्रदर्शनीको अभिरुचिपूर्वक अवलोकन गरेका थिए।
गौतम माविले गरेको यो प्रयासले केवल एउटा दिवस मनाउने औपचारिकता मात्र पुरा गरेको छैन । बरु सयौँ घरमा हरियालीको जग बसालेको छ।
विद्यालयबाट विरुवा बोकेर घर फर्किएका ती अबोध नानीहरूले भोलि त्यो विरुवा मात्र रोप्ने छैनन्, बरु उनीहरूसँगै वातावरण जोगाउने एउटा बलियो सचेतना पनि हुर्कने निश्चित छ।
कार्यक्रममा सहभागी प्रमुख अतिथि, अतिथिहरुलाई पनि गमला सहितको विरुवा मायाको चिनो स्वरुप वितरण गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई वनजंगल जोगाउन तथा वृक्षारोपण गर्न जिम्मेवार बनाउनका लागि मायाको चिनो पनि गमला सहितको विरुवा वितरण गरिएको विद्यालयका कोर्डिनेटर तथा जनसम्पर्क अधिकारी सौराज प्रधानले बताए ।

