वीरगन्ज । वीरगन्ज–१३, राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूको सुरक्षा र अभिभावकको आर्थिक राहतलाई ध्यानमा राख्दै दुर्घटना तथा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ।
चालु शैक्षिक सत्रदेखि लागू भएको यस योजनाअन्तर्गत विद्यालयमा अध्ययनरत करिब १८२५ विद्यार्थीहरूको बीमा गरिएको हो। नेको इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा प्रतिविद्यार्थी कुल रु. १,०३,५०० बराबरको बीमा व्यवस्था गरिएको छ, जसमा रु. १,००,००० दुर्घटना बीमा र रु. ३,५०० स्वास्थ्य बीमा समावेश छ।
यो बीमा योजना २४सै घण्टा लागू हुने भएकाले विद्यार्थीलाई विद्यालयमा मात्र नभई घर, बाटो वा खेलकुदका क्रममा हुने दुर्घटनामा समेत उपचार खर्च उपलब्ध हुनेछ। यस कदमले अभिभावकको आर्थिक भार कम गर्नुका साथै विद्यार्थीलाई सुरक्षित वातावरणमा अध्ययन गर्ने अवसर मिल्ने विश्वास विद्यालय प्रशासनले लिएको छ।

