वीरगन्ज । विवादित हरिखेतान बहुमुखी क्याम्पसको सञ्चालक समिति पुर्नगठन गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पर्साकै जेठो र प्रतिष्ठित सामुदायिक क्याम्पस हरि खेतान बहुमुखी क्याम्पसको सञ्चालक समिति पुनर्गठन भएको हो ।
क्याम्पस प्रमुखद्वारा जारी आधिकारिक सूचना अनुसार, गत जेठ १६ गते बसेको बैठकले डा.रामअवतार खेतानको अध्यक्षतामा सञ्चालक समितिको पुनर्गठन कार्य सर्वसम्मत रूपमा सम्पन्न गरेको हो।
पुनर्गठित सञ्चालक समितिमा उपाध्यक्ष हरि प्रसाद गौतम, कोषाध्यक्ष सुरेश कुमार रुंगटा, सदस्य बेद बहादुर कार्की, श्रीमती बर्जित कौर र सदस्य सचिवमा क्याम्पस प्रमुख किशोरी रायरहेका छन् । सल्लाहकारमा जय प्रकाश खेतानलाई चयन गरिएको छ ।
क्याम्पस प्रशासनले मंगलकार सूचना प्रकाशित गर्दै शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरूलाई यस नयाँ नेतृत्वबारे जानकारी गराएको हो।
नयाँ कार्यसमितिको आगमनसँगै क्याम्पसको प्रशासनिक र शैक्षिक गुणस्तरमा थप सुधार आउने अपेक्षा गरिएको छ। यसैबीच क्याम्पस प्रमुखले नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
क्याम्पसको चौतर्फी र उत्तरोत्तर प्रगतिका लागि नयाँ कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू सर्वसम्मतिबाट चयन हुनुभएको क्याम्पस प्रशासनले जनाएको छ। क्याम्पसको सञ्चालक समितिको विषयलाई लिएर धेरैदिनदेखि विवाद चलिरहेको थियो ।

